डाेटी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई डोटीको जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २५ साउनमा सरुवा गरेको थियो । सरुवा भएको लामो समय हुँदा पनि उनले अहिलेसम्म हाजिर गर्न पाएका छैनन् ।
गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई शारीरिक रूपमा अशक्त (अपाङ्गता) भएको भन्दै हाजिर गर्न नदिएका हुन् । अध्यक्षले फोन गरेर ’नआउनु आए पनि हाजिरी लगाउन दिँदैनौँ’ भनेपछि आफू नगएको ठगुन्नाले बताए । उनले सरुवा भएपछि सुरुमा फोन गर्दा अध्यक्षले अहिले नआउनोस्, तपाइको सरुवा अन्तै मिलाइदिन्छु भनेर आउन नदिएको बताए । सरुवा भएको धेरै दिन भइसकेपछि फोन गरेर आउँछु भन्दा हाजिर हुन नदिने भन्दै अध्यक्षले चेतावनी दिएको उनको भनाइ छ ।
यसअघि ठगुन्ना डडेल्धुराको आलिताल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा काम गर्दै आएका थिए । मन्त्रालयले आलितालमा ठगुन्नाको ठाउँमा भोजबहादुर ऐरलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको छ । गाउँपालिका कार्यालयका अनुसार उनी ४ भदौमा हाजिर भएर ८ भदौमा बिदामा गएका छन् ।
सरुवा भएकै दिन २५ साउनबाटै बिदामा बसेका ठगुन्ना सरुवा भएको ठाउँमा हाजिर हुन नपाएपछि आलितालमै फर्केका छन् । सरुवा भएर आएका प्रशासकीय अधिकृत बिदामा गएपछि ८ भदौबाट आलितालमै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा काम गरिरहेको ठगुन्नाले बताए ।
‘जोरायलमा अध्यक्षले अपाङ्गता भएको भनेर हाजिर लगाउन दिएनन् । हाजिर हुन नपाएकाले अन्यत्र सरुवा माग्दै मन्त्रालयलाई ३ पटक पत्र पठाइसके पनि सुनुवाइ भएको छैन,’ उनले भने, ‘नयाँ आइसकेकाले यता पनि २ प्रशासकीय अधिकृत हुने भयौँ । शारीरिक रूपमा काम गर्न नसक्ने भनेर मलाई होच्याइएको छ ।’
अधिकृत ठगुन्नाले सरकारले खटाएको ठाउँमा जहाँ पनि काम गर्न सक्ने बताए । ‘जोरायलभन्दा विकट आलितालमा काम गर्न सक्ने तर, जोरायलमा मैले किन काम गर्न नसक्ने ?,’ उनले गाउँपालिका अध्यक्षलाई प्रश्न गरे ।
अध्यक्ष ओझाले मन्त्रालयलाई पत्र पठाएर शारीरिक अशक्तताका कारण ठगुन्नाले काम गर्न नसक्ने भन्दै उनको अन्यत्र सरुवा गर्न भनेका छन् । ठगुन्ना शारीरिक रूपमा अपाङ्गता भएकाले भौगोलिक रूपमा विकट गाउँपालिकामा कामकाज गर्न नसक्ने पत्रमा उल्लेख छ । ठगुन्ना ढाडसम्बन्धी अपांगता भएका व्यक्ति हुन् ।
ओझाले भने शारीरिक रूपमा अशक्तताका साथै मन्त्रालयले पनि आफूसँग समन्वय नगरी पठाएकाले प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएको बताए । संविधानले तीनै तहका सरकारबीच समन्वय, सहकार्य गर्नुपर्ने भने पनि प्रशासकीय अधिकृत पठाउँदा मन्त्रालयले आफूसँग कुनै समन्वय नगरेको उनको भनाइ छ ।
‘सुदूरपश्चिमका सबै स्थानीय तहमा निमित्त प्रशासकीय अधिकृतले काम गरिरहेका छन् । जोरायलमा मात्रै किन प्रमुख प्रसासकिय अधिकृत चाहिन्छ ? सबै ठाउँमा निमित्त छन्, सुब्बाले चलाइरहेका छन्,’ उनले भने, ‘उहाँ अशक्त पनि हुनुहुन्छ । उहाँकै राम्रोको लागि मैले जोरायलमा नआउनु भनेर भनेको हुँ ।’ सिलापत्रमा खवर छ ।