काठमाडौं, नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णयमाथि प्रश्न उठेको छ।चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए। आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए। विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मी टू’ भनेर चिनिएको थियो।
स्थापितले भने आफूमाथि लागेको आरोप झूटो भन्दै कानुनी कारबाहीमा जाने बताएका थिए। तर उनले कुनै कारबाहीको बाटो अपनाएनन्। उनले आरोपबारे गरेको खण्डनका आधारसमेत बाझिएका थिए। आफूमाथि स्थापितले पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रश्मिलाले उनैलाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय दुःखद भनेकी छन्।
‘बितेका २५ वर्षमा एमालेले काठमाडौंको मेयर बनाउन अरू कुनै नेता–कार्यकर्ता नदेखेर यौन दुराचारीलाई नै भेट्टाएछ। यो खबर सुनेर मलाई निकै दुःख लाग्यो,’ उनले भनिन्, ‘यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिलाई त पार्टीले कारबाही पो गर्नुपर्थ्यो, मेयरको उम्मेदवार बनाएर पुरस्कार पो दियो। यो एमालेले महिलामाथि गरेको अपमान हो।’
एमालेले यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई मेयर उम्मेदवार बनाउँदा पनि पार्टीभित्रका नेताहरू चुप लागेकामा समेत आफूलाई दुःख लागेको उनले बताइन्।‘एमालेले मेयरका लागि अरू कोही योग्य नदेखेर यौन दुराचारीलाई योग्य देख्यो तर एमालेभित्रै कति महिला–पुरूष नेताहरू हुनुहुन्छ जो महिला अधिकार, बलात्कार र हिंसाविरूद्ध बेलाबेला बोल्नुहुन्छ। यसपालि भने उहाँहरूले आफ्नो पार्टीलाई प्रश्न गरेको देखिएन। यसमा मलाई ज्यादा दुःख लाग्यो,’ उनले भनिन्।
हामीले यसबारे एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी सचिव सुजिता शाक्यलाई प्रश्न गर्दा उनले स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लागेको आधिकारिक रूपमा थाहा नभएको बताइन्। ’धेरै वर्ष पुरानो कुरा, त्यो पनि अदालतबाट प्रमाणित नभएको विषय भएकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भनिन्, ‘उहाँमाथि यौन दुर्व्यवहारको आरोप लागेको आधिकारिक रूपमा हाम्रो संगठनलाई थाहा छैन। त्यसमाथि वर्षौं पहिला भएको घटना रहेछ जो अदालतबाट प्रमाणित पनि भएको छैन। कारबाहीको प्रक्रियामा भएको र अदालतबाट प्रमाणित भएको भए एउटा कुरा हुन्थ्यो तर कुनै पनि आधारबिना अहिले पार्टी निर्णयमा प्रश्न गर्ने कुरा भएन।’
रश्मिलाले चार वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। स्थापितले राखेको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको घटना उनले लेखेकी थिइन्।