किभ, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले ग्यास र व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको आरोप लगाएका छन्। जेलेन्स्कीले रुसले ग्यास आपूर्ति रोकेर युक्रेनविरुद्धको युद्धमा दबाब सिर्जना गर्न प्रयोग गरिरहेको आरोप लगाएका छन्।रुसले बुधबार पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको थियो। दुवै देशले रुबलमा तिर्न अस्वीकार गरेका कारण रुसले यो कदम चालेको दाबी गरेको छ। रुसको यो कदमको चर्को आलोचना भइरहेको छ।
युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले केही युरोपेली देशहरूलाई ग्यास आपूर्ति रोक्न रुसको निर्णय ब्ल्याकमेल गर्ने हतियार भएको बताएकी छन्। उनले रुसको यो निर्णय अनुचित र अस्वीकार्य भएको बताइन्। यसबाट ग्यास आपूर्ति गर्ने राष्ट्रका रूपमा रुसको अविश्वसनीयता देखिएको उनले बताइन्।रुसको ऊर्जा कम्पनी गाजप्रोमले रुबलमा तिर्न अस्वीकार गरेको कारण पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको बताएको छ।
पोल्याण्डको ग्यास आपूर्ति गर्ने कम्पनी पीजीएनआईजीले ग्यासप्रोमले ग्यास आपूर्ति रोकेर सम्झौता उल्लंघन गरेको जनाएको छ। कानूनी माध्यमबाट क्षतिपूर्ति पाउन प्रयास गरिने कम्पनीले जनाएको छ।रुसको यो कदमप्रति बेलायतले पनि प्रतिक्रिया दिएको छ। बेलायतका उपप्रधानमन्त्री डोमिनिक रोबले ग्यास आपूर्तिमा कटौती गर्ने निर्णयले रुसले आफूलाई थप एक्लो बनाएको बताएका छन्। यो कार्यले रुसमा यसको उल्टो असर पर्ने उनले दाबी गरे।बीबीसी