काठमाडौं, प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्ने आम सञ्चारमाध्यमलाई कारबाही गरेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरिएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
त्यसैगरी दर्ता नभएका चार वेबपोर्टललाई कारबाहीस्वरुप मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ । ३५ सञ्चार माध्यममध्ये चार वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई सञ्चार माध्यमबाट पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको छ । दुई वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र दुई अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको सूचना अधिकारी बोहराको भनाइ छ । त्यसैगरी चारवटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ । प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ।
सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ त्यसबारे निर्वाचन आयोगलाई जानकारी दिँदै आएको छ । निर्वाचन आचारसंहिता लागू भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमबाट आचारसंहिता पालना भएनभएको विषयमा विशेष अनुगमनसमेत गर्दै आएको छ । सूचना अधिकारी बोहराले भने, “काउन्सिलले दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग गराउँदै आएको छ ।”

















