काठमाडौं,नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।
सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी अधिकारी हुन् । आईजीपीको प्रतिस्पर्धामा एआईजीत्रय विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्र धानुक पनि थिए । तर, सरकारले सिंहलाई नियुक्त गरेको हो । उनीहरू एकै ब्याची हुन् । तर, एआईजी बढुवामा भने फरक–फरक मितिमा बढुवा भएका थिए ।
यस्तो छ सिंहको कमाण्ड अनुभव
२० कात्तिक २०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिएका सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । प्रहरी निरीक्षकबाट नै सिंह आईजीपीको प्रबल दाबेदार मानिएका थिए । उनी एक नम्बरका इन्सपेक्टर हुन् ।२०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा हुँदा पनि सिंह एक नम्बरमै बढुवा भएका थिए ।
डीएसपी हुँदा सिंहले गोरखा, दोलखा, नुवाकोट जिल्लाको सफल कमाण्ड सम्हालेका थिए । २०६९ सालमा डीएसपीबाट प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि सिंह एक नम्बरमै बढुवा भए । एसपी हुँदा सिंहले दाङ र पर्सा जिल्ला प्रमुख भएर कमाण्ड सम्हालेको अनुभव उनीसँग छ ।
२०७४ मा उनी दाङ प्रहरी प्रमुख हुँदा तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए । उक्त अपहरण एक चर्चित घटना थियो ।श्रेष्ठको दाङका टीकाराम घर्तीले आफ्नै छोरी प्रयोग गरेर हनी ट्रयाप गरेर अपहरणपछि सल्यानको जंगलमा हत्या गरेका थिए । घटना भएको साढे दुई वर्षपछि २०७६ मा जिल्ला अदातल दाङले घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।
एसएसपी बढुवामा भने सिंहलाई पछि पारियो । उनी दोस्रोमा झरे । एसएसपी हुँदा सिंहले बागमती तालिम केन्द्र र तत्कालीन महानगरीय अपराध महाशाखा हाल उपत्यका अनुसन्धान कार्यालयको प्रमुखको कमाण्ड सम्हाले ।२०७६ मा डीआईजी भएका सिंहले मधेस प्रदेश प्रहरी प्रमु्ख र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गरेका थिए । एआईजी बढुवा हुँदा पनि उनले सीआईबीकै प्रमुख भएर काम गरेको अनुभव उनीसँँग छ । सिंह व्यवसायिक र अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।उनलाई सरकारले विभिन्न तीन विधाअन्तर्गत विभूषित गरेको छ । आईजीपीको उनको कार्यकाल एक वर्ष रहनेछ ।