spot_img

“निष्ठा र नीति बिराएको राजनीति”

spot_img

डाेल्पा, आफु र आफन्तवादबाट माथि उठेर समाजको सामुहिक स्वार्थहितको व्यवस्थापनका लागि गरिने विशुद्ध सेवामूलक कार्य नै राजनीति हो । समकालीन समाज व्यवस्थालाई बुझ्ने, बदल्ने, सामाजिक अन्तरविरोधहरूलाई व्यवस्थित र युक्तिसङगत तरिकाले हल गर्ने, समाजलाई सुस्पष्ट मार्ग निर्देश गर्नका लागि गरिने व्यवस्था नै यथार्थमा राजनीति हो । राजनीति सर्वत्र बजारमा जो कसैले खरिद बिक्री गर्ने बस्तु किमार्थ होइन् । राजकीय शक्तिको अभ्यास गर्ने नीतिको पनि मूल नीति राजनीति हो । विशुद्ध समाज केन्द्रित हुदै समाज, जीवन, जगतलाई जोड्ने जनताको जनजीविकालाई सुधार गर्ने मूल अभिष्ट रहन्छ भने त्यो वास्तवमा राजनीति हो । समाजको सर्वोपरी मियो हो राजनीति । नीति र आम जनताको आवश्यकता एवं एजेण्डा हराएको नीति केवल रूपमा मात्र राजनीति हुनसक्ला । नीति सहितको राजनीतिले मात्र समाज समृद्धिको सपनालाई सार्थकता दिन सक्छ । नीतिभन्दा नेतृत्व केन्द्रित राजनीतिले केवल निश्चित समुहको स्वार्थ पुरा गर्ने माध्यम र केवल कमाई खाने मेलो मात्र हुन्छ राजनीति ।

पछिल्लो समयमा राजनीतिको असली मर्म र भावना विपरित राजनीतिमा विकृति एवं भ्रष्टीकरण मौलाउदै गइरहेको देखिन्छ । राजनीतिको नाममा, राजनीति मार्फत प्राप्त भएको सत्ता र शक्तिले भ्रष्टाचार, अनुचित लाभ र अनियमितताको जालो अरू कसिलो बन्दै गएको छ । जसको फलस्वरूप रत्तिभर नागरिकहरू राजनीति र चुनावप्रतिको मोह एवं आकर्षण देखिदैन। योजना छनौट, बजेट विनियोजन र विभिन्न खालका अवसरहरू प्रदान गर्दा आफु र आफ्नो नजिकको स्वार्थ समुहको रजगज रहने र चल्ने गरी नियोजित गतिविधिहरू सञ्चालन गरेको बग्रेल्ती उदाहरणहरू भेटिन्छन् । जसरी पनि चुनाव जित्ने र सत्ता, शक्ति र सरकारमा पुग्नका लागि दाम, साम, दण्ड र भेदको शैली अपनाउने परिपाटी यद्यपि कायम छ । यस्ता लोकतन्त्र विरोधी हर्कतका लागि निरन्तर उद्यत हुने, सत्ता र शक्तिका लागि अस्वस्थ र अप्रासङगिक गठबन्धन र गडजोडका गजेडीहरू चलिरहेका छन् र अरू चल्दै जानेछन् यदि नियत र नीतिमा अपेक्षित सुधार नहुन्जेलसम्म ।

 स्थानीय तहको दोस्रो आवधिक निर्वाचन बैशाख ३० आउन केवल हप्तामा सीमित हुँदा जनताका नीति र नियमहरू परिधिमा छन् जनताका आवश्यकता, अवसर, अठोटहरू प्राथमिकतामा छैनन् र जसरी पनि आफु जित्ने र अमुक दल जित्ने विषयवस्तुहरू मात्र केन्द्रमा छन् । जसरी भएपनि, जे गरेर भएपनि केवल एक थान चुनाव जित्नका लागि दल र दल सम्वद्ध उम्मेदवारहरूले चुनावलाई बढो महत्वका साथ जीवनमरणको सवाल बनाएका छन् । कुन दल, कुन उम्मेदवारलाई भोट दिने, किन दिने र विगतका वाचाहरू कति पुरा भए वा गरे सोको कुनै लेखाजोखा रत्तिभर छैन्
नगरपालिका र गाउँपालिका महासङ्घको भनाई अनुसार झण्डै ६० प्रतिशत जनप्रतिनिधिहरूले पुनः अवधिका लागि चुनावमा भाग लिएको तथ्य प्रष्ट देखिन्छ ।

 अतः यसरी दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूले पहिलो ५ वर्षे प्रारम्भिक कार्यकालमा जनताका लागि नमूना योग्य कामहरू के के गरे रु उम्मेदवारलाई मत दिनुपर्ने औचित्व के रु सोको समीक्षा, छलफल र सुनुवाई गर्ने समय आएको छ । सम्वद्ध दलले टिकट वितरणमा लिइएको प्रारम्भिक छनौट परीक्षामा उत्तिर्ण भएका उम्मेदवारहरू अन्तिम परीक्षाको उत्कृष्ट नतिजा प्राप्तिका लागि अन्तिम र महत्वपूर्ण जनताको अदालतमा सामेल हुदैछन् । दलले टिकट दिदैमा पक्कै पनि चुनाव जितिदैन र जित्नका लागि मतदाताहरूको कसीमा अब्बल सावित हुनुपर्छ । हरेक दल र दल सम्वद्ध उम्मेदवारहरूले चुनावको नतिजा आफ्नो पोल्टामा पार्न हर प्रकारका चालवाजी, तिकडम, तडकभडक र शैली सकेसम्म र भ्याए सम्म पक्कै पनि अपनाउने गरिन्छ जुन लोकतन्त्रको ठाडो उपहास हो । आम सर्वसाधारणमा राजनीति भनेको इमान, निष्ठा र विधिगत रूपमा सामाजिक र संसारिक व्यवस्थालाई समाज र मुलुक हितका लागि सञ्चालन गरिने क्षेत्र र सवाल हो भन्नेमा कत्तिपनि विश्वास छैन् र डन, धन, फटाह, लुटाहहरूले गर्ने फोहोरी खेल हो भन्ने तरिकाले अर्थ्याइनु पक्कै पनि लोकतान्त्रिक व्यवस्था माथिको ठूलो चुनौति हो ।

निर्वाचित जनप्रतिनिधिहरूले जनताले औंला उठाउँने गरी तडकभडक गर्ने, सेवासुविधा लिने, अनुचित तरिकाले शक्ति र सम्पत्ति जम्मा गर्ने, जीवनशैली नाटकीय तरिकाले परिवर्तन गर्ने, जवाफदेहिता र उत्तरदायित्वको प्रवाह नगर्ने, सेवक नभई शासक शैली अपनाउने, कार्यकारिणी भूमिकामा रहेका जनप्रतिनिधिहरूले अपारदर्शी, हट, स्वार्थी, निश्चित समुहको स्वार्थमा समाहित हुने, राजनैतिक आग्रह पूर्वाग्रही सोच राखेमा, स्वार्थ समुहको मात्र सल्लाह र सम्पर्कमा काम गरेमा जनप्रतिनिधिहरू बदनाम मात्र होइन् र शासन व्यवस्थाको धज्जी र धब्बा लाग्ने गर्दछ । निरन्तर जनताको घरघरमा गएर कुराकानी गर्ने, जनताका समस्याहरू केलाउने, आफ्नै आँखाले देख्ने र सोको समाधान खोज्ने परिपाटी शुरू गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, विजुली, सामाजिक सुरक्षा, पोषण, भौतिक र आर्थिक पूर्वाधारका गतिविधिहरूमा जोड दिने र विकासात्मक गतिविधिहरू सञ्चालन गर्दा महिला, दलित, जनजाति, ज्येष्ठ नागरिक, एकल महिला, युवाहरू समेतलाई विशेष ध्यान दिनुपर्छ । जनताको करबाट पालिएका जनप्रतिनिधिहरू जनताका मालिक नभइ सेवक बनी जनताप्रति जिम्मेवार र उत्तरदायी बन्नैपर्छ । जनतासामु उत्तरदायित्व निर्वाह गरेको वस्तुगत पुष्टी गर्नैपर्छ ।

 जनताले महसुस हुने गरी छिटो, सरल र मितव्यीय तरिकाले सेवा दिने, जनताका जनगुनासाहरूको समाधान गर्दै जाने, इमान्दार, कर्तव्यनिष्ठ र पारदर्शी तरिकाले काम गरेमा जनप्रतिनिधिहरू नजिकको असल र अब्बल अभिभावकको परिचायक बन्न सक्छन् । स्थानीय तहमा आएको बजेटको प्रभावकारी र न्यायोचित तरिकाले आवश्यकताको आधारमा सही तरिकाले र सही समयमा सहभागितामूलक तरिकाले विनियोजन, व्यवस्थापन गरी काम गरेमा अधिकतम अपेक्षित उपलब्धि स्थानीय सरकारले हासल गर्नसक्छ ।
नीतिबाट विचलित भएको राजनीतिलाई सही मार्गमा ल्याउन विधि, विचार र दर्शनप्रधान बनाउनु आजको सबैको मुख्य सवाल हो । कस्तो नीति भन्ने सन्दर्भ कुन वर्गको राजनीति भन्ने विषयले निर्धारण गर्दछ । जहिले पनि भोट दिनेहरू सधै हारिरहने र भोट लिनेहरू जीतिरहने परम्परा कहिले अन्त्य हुन्छरु यो असमान अन्तरविरोधलाई बदल्नै पर्छ, गरिखानेहरूको व्यवस्था केवल गरी खाने वर्गहरूले नै ल्याउने हो नकी अन्यको निगाह र आशिर्वादले हुने होइन् । गाउँ ठाउँ डुलेको, भिजेको, निस्वार्थी, दुरदर्शी राजनैतिक नेतृत्वबाट मात्र सम्भव हुन्छ, समाजको समानता र समृद्धिको सपना । केवल समाज व्यवस्थाको चित्र र शब्द पढेको र सुनेको आधारमा समाज समृद्धिको सपना मात्र कोरा कल्पना र कागजी हुन्छ । त्यसैले पात्रको प्रवृत्ति र नियति यथावत रहेसम्म व्यवस्था मात्र परिवर्तन हुँदैमा जनताको समग्र अवस्थामा तात्विक सुधार हुनेछैन् ।

आसन्न स्थानीय चुनावमा सम्पूर्ण मतदाताहरूले विशेष सावधानीका साथ दलका उम्मेदवारहरूलाई छान्नुपर्छ । विगतमा छानिएका उम्मेदवारहरूले कत्तिको राम्रो र भरोसायोगय काम गरे वा गरेनन् रु यस पटक दल मार्फत छानिएका कुन कुन उम्मेदवारहरूलाई विजय गराउँदा जनताप्रति जाँगरूक र जिम्मेवार हुन्छन् त्यस्ता उम्मदवारलाई छनौटका लागि मतदान गर्नुपर्छ । 

लोकतन्त्रको मुख्य आधारभूत जग भनेको स्थानीय तह भएकोले जबसम्म स्थानीय तहको कार्यकारिणी राजनैतिक अधिकारलाई अभ्यास र अनुसरण गर्ने निर्वाचित सरकार जित सक्षम, सवल हुन्छन् त्यति सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सवल र सुदृढ हुन्छ । निष्ठा र नियम विराएको राजनीतिलाई सही मार्गमा ल्याउन हामी सबै सचेत मतदाताहरूको परम् कर्तव्य हो । गाउँ गाउँमा सिंहदरबार र टोलटोलमा भ्रष्टाचार र समाजमा संस्थागत रूपमा व्याप्त असमानता, अनियमितता र भष्ट्राचारले भयावह रूप लिनुमा कुनै एक पक्षामात्र जिम्मेवार छैन्, समाज, समग्र राजनीति र प्रशासन सबै उत्तिकै दोषी छन् । तर मुख्य गरी राजनीति नै समाज र देशको मुख्य मियो भएकोले मूलतः सुधारको पहल पनि राजनीतिक तहबाटै हुनुपर्छ ।

 त्यसैले राजनीति र राजनैतिक व्यवस्थाको विकल्प खोज्ने नभई खराब, भ्रष्ट, गैर जिम्मेवार, नीति, विधिबाट विचलित हुने, सम्पत्ति र शक्तिको दुरूपयोग गर्ने स्वार्थ समुहको वरिपरि रहने नेतृन्वको विकल्प खोज्ने उपयुक्त समय आएको छ । राजनीति प्रति जाँगेको नैराश्यता, निष्कृयता र विकर्षणलाई दुर गरी निष्ठा, इमान्दारिता, सदाचार र सादापनको संस्कृतिको विकास गरी असल राजनैतिक संस्कारको विकास गर्ने समय आएको छ । कुनै डर, धम्की, त्रास, क्षणिक लोभ, प्रभाव र प्रलोभनमा नपरी निकै होसियारीपूर्वक विवेकसम्मत र विधिसम्मत तरिकाले अब्बल जनप्रतिनिधिहरू चयन गर्ने ५ वर्षमा एक पटक प्राप्त हुने नैसर्गिक अधिकार र अवसरलाई खेर नफालौं र यसैमा सबैको भलाई हुनेछ ।

लेटक कार्की माओवादी केन्द्रमा आवद्ध हुनुहुन्छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img