दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जारी मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खसेको छ ।प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १ हजार ७ सय ९४ मत खसेको छ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गतेको मतदान स्थगित भएको थियो ।
मतदान आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भैरहेको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्यासी बनेका छन् ।
उक्त वडामा जम्मा ६ हजार १ सय ७० मतदाता रहेका छन् । वडाका दुई स्थानमा मतदान हुँदैछ । जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७ सय ५६ र दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४ सय १४ मतदाताले मतदान गर्दै छन् ।
वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाको यसअघि मतदान भएका वडाहरुको मतगणना सुरु हुने निर्वाचन कार्यालय तुलसीपुरले बताएको छ । मतगणना सरकारी वकिलको कार्यालय तुलसीपुरमा हुने तय भएको छ ।