काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका हुन् । उनले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताए । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताए ।
मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताए । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उनको भनाई छ ।मन्त्री पौडेलले काँग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पारे । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उनको भनाई छ । उनले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमै रहन आग्रह समेत गरे ।उनले गठबन्धनका कमी, कमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने पनि बताए ।