एजेन्सी, दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो । निर्वाचनबाट नगर प्रमुखहरु, गभर्नरहरू र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन् भने सात जना सांसद पनि चयन हुनेछन् ।स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् । मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।
कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको हो । कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा बसेकाहरूलाई भने बेलुका ६ ः ३० देखि ७ः३० सम्म मतदानको व्यवस्था गरिएको छ ।दिउँसोमा अन्य मतदाताहरूको भिडभाड हुने भएकाले सङ्क्रमितलाई छुट्टै समय तय गरिएको अधिकारीहरूले जनाएका छन् । बुधबारको मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरू निर्वाचित हुनेछन् भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरु छनौट हुनेछन् ।
त्यसैगरी नगर परिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो । –सिन्ह्वा