काठमाडौं,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले उपाध्याक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजाने निर्णय गर्यो। प्रधानमन्त्री तथा पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा उपाध्यक्ष गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्टियसभामा लैजाने प्रस्ताव गरेका थिए। तर, गौतमको नाम शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रष्टपतिसमक्ष सिफारिस गरे। यो बैठकमा वामदेवबारेमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिएका छन्। ‘उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने राष्ट्रपति समक्ष पठाउने कुरा प्रधानमन्त्रीकै हो। उहाँकै प्रस्ताव र सचिवालयको निर्णय भएकाले त्यसबारेमा छलफल भएन,’ ती मन्त्रीले भने।
पार्टीमा निर्णय भइसकेको हुनाले प्रधानमन्त्रीले आफ्नो अनुकूलता हेरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। ‘पार्टीबाट हिजोको सचिवालय बैठकमा नै निर्णय भयसक्यो’, उनले भने, ’त्यसैले प्रधानमन्त्रीले जतिबेला पनि पठाउन सक्नुहुन्छ, प्रक्रिया रोकिएको छैन।’ बिहीबारको सचिवालय बैठक महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न बसेको पनि नेम्वाङले बताए।
’बिहीबारको सचिवालय बैठक कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बसेको थियो’, उनले भने, ’तर, सचिवालयमा अर्कै कुरा प्रमुख बनेर आएको प्रवक्ताले जानकारी दिनुभएको छ। पार्टी सचिवालयले निर्णय गरिसकेपछि रोकिने भन्ने कुरा हुन्नँ।’ सचिवालयले निर्णय गरेपछि प्रधानमन्त्रीबाट राष्टपति समक्ष पठाउने स्थायी कमिटी सदस्य मातृका यादव बताउँछन्। ‘निर्णय भइसकेपछि मन्त्रिपरिषद्को बैठकमा छलफल गर्न आवश्यक नदेखेर कुरा नउठेको हो।
तर, उहाँले छिट्टै पठाउनुहुन्छ भन्ने लाग्छ,’ उनले थपे, ‘पार्टीले निर्णय गरिसकेपछि प्रधानमन्त्रीले रोक्न मिल्दैन।’ नेकपाको सचिवालय बैठकले बिहीबार राष्ट्रपतिले मनोनित गर्ने स्थानमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो। यसअघि फागुन १४ गतेको सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर ओलीले त्यसलाई अस्वीकार गरिदिएका थिए।