काठमाडाैँ, आगामी आर्थिक वर्षदेखि सरकारले खेलाडीको संरक्षण र विकासका लागि खेलकुद बिमाको अवधारणा विकास गर्ने भएको छ।मंगलबार प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले आगामी आर्थिक वर्षमा खेलाडीको लागि खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बिमा, खेलाडी तथा प्रशिक्षण आकस्मिक बिमाको व्यवस्था गरेको बताए।मन्त्री पौडेलले खेलाडीको प्रोत्साहनका लागि खेलाडी भत्ता, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित समानको व्यवस्था पनि गरिएको बताए।
‘खेलाडीको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद बिमाको अवधारणा विकास गरिएको छ। दुर्घटनामा परेका खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ’, उनले भने, ‘खेलाडीलाई प्रोत्साहन गर्न खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षणको आकस्मिक बिमा सहयोग, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक भत्ता र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समानको व्यवस्था मिलाइएको छ।’
उनले आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरि खेलपूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको बताए।‘एक स्थानीय तह एक खेलपूर्वाधार निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निर्माणाधिन रहेका खेलपूर्वाधारहरुलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेट जाने प्रश्ताव गरिएको छ’, उनले भने, ‘स्थानीय तहमा खेल मैदान निर्माणका लागि कार्यविधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी स्थानीय तहले नै उपयुक्त स्थान छनोट गरी पूर्वाधार निर्माणको लागि प्रश्ताव मागरिएको आधारमा मापदण्ड पुगेका स्थानीय तहहरु बजेट विनियोजन गरिएको छ।’
उनले बजेटको अधिकतम सीमा २ करोड भएकाले सबै पालिकाले सम्मान बजेट प्राप्त गर्ने बताए। उनले खेलकुद र खेलाडीहरुको विकास विद्यालय तहदेखि गर्ने उद्धेश्यले विद्यालयलाई खेलकुद र उद्गमस्थलको रुपमा विकास गर्न आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको प्रश्ताव गरिएको छ।