काठमाडौँ, नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा आफ्ना विचार राख्दै ज्ञवालीले पछिल्लो समय नेपालमा विश्वमा देखिएका भूराजनीतिक बदलाव र त्यसका बाछिटाहरू देखिन थालेको बताएका हुन् ।
’भारत र चीनबीचको चिसिँदो सम्बन्ध र चीन र अमेरिकाबीचको व्यापार युद्धका बीचमा हामीले आफूलाई कसरी अगाडि बढाउने भन्ने चुनौती छ,’ ज्ञवालीले भने । पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने पनि बताए ।
’अहिलेको मुख्य चासो राष्ट्रिय हितमा बेलामौकामा आउने चुनौतीहरू कसरी सामना गर्छौँ भन्ने छ । इतिहासले छाडेका वा भारी बोकाएका समस्याहरू समाधान गर्नु छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक वार्तामार्फत समाधान गर्नुपर्नेछ । यसो भनिरहनु भारतको विरोध गर्नु पनि हैन र उग्र राष्ट्रवाद पनि हैन,’ उनले भने ।
सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् ।कान्तिपुरबाट