चितवन, जिल्लामा बाढी पहिरोबाट ५० हजार ५ सय घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तथ्याङ्क सार्वजनिक गरेको हो ।जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै माडी नगरपालिकाका ४ हजार ५ सय परिवार, रत्ननगरका पाँच हजार, कालीका नगरपालिकाका १ हजार ५०, खैरहनी नगरपालिकाका ३ सय २० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३ सय, कालीकाका १ सय, राप्तीका २ सय तथा इच्छाकामना गाउँपालिकाका १ सय २५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
बाढी र पहिरोको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ’नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।’ उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।रासस