मोरङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्तियारले शुक्रबार उनीहरुविरुद्ध विगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपितमा नगर उपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलम छन् ।
यस्तै पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ ।महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पु¥याएको बताइएको छ ।
तत्कालीन नगर उपप्रमुख कार्की र विराटनगर महानगरपालिका १५ का तत्कालीन वडाध्यक्ष आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी गलत मूल्याङ्कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी पु¥याएको ठहर गर्दै अख्तियारले उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए ।यस्तै तत्कालीन प्रशासकीय अधिकृत अधिकारीसहित पोखरेल, प्रधान र आलमलाई १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ । साथै उपभोक्ता समितिका अध्यक्ष सुडी, सचिव आचार्य र कोषाध्यक्ष घिमिरेमाथि पनि १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ ।