काठमाडौँ, नेकपा(माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताएकी छिन् ।मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताएकी हुन् ।
अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको भन्दै त्यस्तो संस्कारगत चेतनालाई बदल्न राज्यले प्रभावकारी अभियान चलाउनुपर्ने उनको भनाइ थियो । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने उनले बताइन् ।
‘दलित समुदायमाथिको अपमान र अमानवीय व्यवहार अझै अन्त्य हुन सकेको छैन । त्यसैले हाम्रो समाजको संस्कारगत चेतनालाई बदल्न अत्यन्तै सशक्त र प्रभावकारी अभियान चलाइनुपर्दछ । जसको पहल स्वयम् राज्यले लिनुपर्दछ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइनुपर्दछ । र दलितको प्रतिस्पर्धा दलितसँग मात्र हुने व्यवस्था गरिनुपर्दछ । दलितको नाममा साहु, महाजनको होइन, दलितभित्रकै निम्न वर्गको प्रतिनिधित्वमा जोड दिइनुपर्दछ । दलित समुदायमाथिको दुर्व्यवहार र अपमानलाई दण्डनीय अपराध मानिनु पर्दछ । र, सोहीअनुरुप कानुन बनाई लागू गरिनुपर्दछ,’ उनले भनिन् ।
सांसद पोखरेलले दलित समुदायभित्रै भएका विभेदहरुको पनि अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले विद्यालयका पाठ्यक्रमहरुले पनि रुढिवादी र अन्धविश्वास कुराहरु सिकाइरहेको भन्दै पाठ्यक्रमहरु दलित समुदायमैत्री हुनुपर्ने बताइन् ।रासस