काठमाडौँ, सत्तारूढ एकीकृत समाजवादीनिकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा मंगलबार आमरण अनशन सुरु गरेको छ । उपकुलपति कार्यालयमा सोमबार ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी पक्राउ परेपछि अनेरास्ववियुले आमरण अनशन थालेको हो ।अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार माधव पन्तलगायत १० जना प्रहरी नियन्त्रणमा छन् । विश्वविद्यालयको विकृति विसंगति अन्त्यको माग राख्दै अनशन सुरु गरिएको उनले बताए । अनेरास्ववियुले एमफिल÷पीएचडीलाई नियमित कार्यक्रमका रूपमा लागू गर्नुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समयअनुकूल परिमार्जन गर्नुपर्नेलगायत माग अघि सारेको छ ।
व्यवस्थापन संकायको डिन कार्यालय र रजिस्ट्रारको कार्यालयमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पनि सोमबारदेखि तालाबन्दी गरेको छ । नेविसंघ र आंशिक प्राध्यापकले १ सय ४३ दिनसम्म गरेको तालाबन्दी खुलेको एक महिना नबित्दै विश्वविद्यालयको वातावरण फेरि बिथोलिएको हो । व्यवस्थापन संकायअन्तर्गत बीबीएको असार २२ र २४ मा सञ्चालित परीक्षामा हुबहु प्रश्नपत्र आएपछि नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता ज्ञापनपत्र बुझाउन त्रिवि पदाधिकारीको कार्यकक्ष पुगेका थिए ।
ज्ञापनपत्र बुझाएपछि नेविसंघले तालाबन्दी गरेको हो । नेविसंघ कार्यकर्ताले ढुंगा हान्दा रजिस्ट्रार कार्यालयमा झ्यालको सिसा फुटेको एक कर्मचारीले बताए । नेविसंघले परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार पेशल दाहाल, व्यवस्थापन संकायका डिन डिल्लीराम शर्मालगायत पदाधिकारी र परीक्षामा संलग्नहरूले राजीनामा दिनुपर्ने माग राखेको छ । अनेरास्ववियुका विद्यार्थीले कार्यकक्षमा उपकुलपति धर्मकान्त बाँस्कोटालाई नभेटेपछि तोडफोड गरेको एक प्रत्यक्षदर्शीले बताए ।
विद्यार्थी अनशनमा बसे पनि उपकुलपति कार्यालयको कामकाज भने रोकिएको छैन । दुवै घटनाको विरोधमा रजिस्ट्रार कार्यालयले विज्ञप्ति निकालेर विश्वविद्यालयमा अराजक क्रियाकलाप भएको जनाएको छ । ‘बोल्नेको दाँत झार्छम्, वक्तव्य निकाल्नेको हात भाँच्छम् भन्दै हिँडेका छन्,’ एक कर्मचारीले भने, ‘विश्वविद्यालयमा सुरक्षाको वातावरण नै छैन ।’ उपकुलपति बाँस्कोटाले तालाबन्दी लगायतले विश्वविद्यालयको वातावरण फेरि बिग्रन पुगेको गुनासो गरे ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले परीक्षा जस्तो संवेदनशील विषयमा लापरबाही गर्ने त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने बताए । उनले हुबहु प्रश्नपत्र निर्माणमा संलग्नलाई कारबाही हुनुपर्नेसमेत माग गरे । त्रिविले छानबिन समिति बनाएर कारबाही प्रक्रिया अघि बढाएको छ भने डिन कार्यालयले कारबाहीका लागि कार्यकारी परिषद्मा सिफारिस गरेको छ ।व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरको ‘अर्गनाइजेसन बीएबीअर’ विषयको प्रश्नपत्र निजी कलेजले सञ्चालन गरेको प्रि–बोर्ड परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेपछि रद्द गरिएको छ । त्यस्तै ‘नेप्लिज सोसाइटी एन्ड पोलटिक्स’ विषयको परीक्षामा पाँचौं सेमेस्टरको ‘सोसियोलोजी’ को प्रश्न सोधेपछि परीक्षा रद्द भएको छ । गत जेठ १६ र २३ मा सञ्चालित परीक्षामा पनि अघिल्लो वर्षको प्रश्नपत्र हुबहु दोहोरिएको थियो ।
मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका स्नातकोत्तर तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ विषयको प्रश्नपत्र गत वर्षकै हुबहु थियो । पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिकल साइन्स’ विषयको परीक्षामा पनि अघिल्लो वर्षकै प्रश्न हुबहु सोधिएको थियो । डिन कार्यालयले परीक्षा रद्द गरेर छानबिन समिति बनाएको थियो । तर स्नातकोत्तर तहको परीक्षामा भएको बदमासीको छानबिन प्रतिवेदन नआउँदै स्नातक तहको प्रश्नपत्रमा पनि लापरबाही देखियो ।अाजकाे कान्तिपुर दैनिकमा खबर ।