काठमाडाैँ, एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै संसदमा सत्तारूढ दलका सांसदहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा र छानबिनको माग गरेका छन् । दबाबमा परेको एमालेले विभागको सदस्य रहेका ‘एम अधिकारी’ खोटाङका सिए मनोज अधिकारी भएको प्रस्टीकरण दिएको छ । तर, एमालेले दाबी गरेका मनोज स्वयं भने यत्रो विवाद हुँदा पनि सार्वजनिक रूपमा केही बोलेका छैनन् ।
अर्थ विभागमा खोटाङका ‘एम अधिकारी’ सदस्य रहेको सार्वजनिक भएपछि गभर्नर अधिकारी विवादमा मुछिएका थिए । उनले आफू कुनै पनि पार्टीको सदस्य नरहेको जानकारीसहित पत्र लेखेरै जवाफ मागेपछि एमालेले जवाफी पत्र पठाउँदै ‘एम अधिकारी’ फरक व्यक्ति भएको प्रस्टीकरण दिएको हो । साउन पहिलो साताभित्र बस्ने विभागको बैठकमा सहभागी हुन उनी विराटनगरबाट काठमाडौं आउने एमालेको भनाइ छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा माओवादी सांसद नारायणकाजी श्रेष्ठले भरपर्दो प्रमाण प्रस्तुत गर्न नसके छानबिनका लागि गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माग गरे । ‘एमालेको अर्थ तथा योजना विभागको एकजना सदस्य, जो ०७३ मा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही व्यक्तिलाई अहिले एम अधिकारीमा रूपान्तरण गरेर अर्थ तथा योजनाविद् भनेर राखिएको छ,’ श्रेष्ठले भने, ‘अब कमसेकम विवाद, अन्योल भयो भनेर उहाँले राजीनामा दिनु वा पद छोडिदिनु वेश हुन्छ ।’
बुधबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री गगन थापा, मीन विश्वकर्मा, रेखा शर्मा, अञ्जना विसुंखे, गजेन्द्र महतलगायतले पनि राजीनामा माग गरेका थिए ।थापाले मौद्रिक नीति मुलुकको अर्थतन्त्र सुधार्ने गरी आउनुपर्ने माग गर्दै गभर्नर अधिकारीमाथि गम्भीर नैतिक प्रश्न उठाएर व्यंग्य गरेका थिए । ‘मैले गरेको यो सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु,’ थापाको भनाइ थियो ।
सत्तारूढ माओवादीका दुई भ्रातृ संगठनले गभर्नर अधिकारीमाथि छानबिन र राजीनामाको माग तेस्र्याएर आन्दोलन सुरु गरेको छ । वाइसिएलले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर अधिकारीले आफ्नो योग्यता ढाँटेको र पार्टी सदस्य भएर कानुन उल्लंघन गरेको दाबी गर्दै छानबिनका लागि उजुरी दर्ता गराएको छ । त्यस्तै, अनेरास्ववियु क्रान्तिकारीले राजीनामा माग्दै माइतीघर मण्डलामा जुलुस प्रदर्शन गरेको छ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।