काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत–विक्षत गर्न चाहेको बताएका छन्।काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै श्रेष्ठले अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहेको बताएका हुन्।
उनले भने, ‘हाम्रो अगाडि चीन र भारत छ। भारत आफ्नो प्रभाव क्षेत्रका रुपमा नेपाललाई लिन अहिले पनि चाहन्छ। त्यो दृष्टिबाट भारत हटेको छैन। चीन विश्व परिस्थितिमा आफू महाशक्ति राष्ट्र बन्ने दिशातिर वा आर्थिक रुपमा पहिलो राष्ट्र बन्न चाहेको छ। नेपालको सत्तालाई प्रयोग गरेर चीन विरोधी गतिविधिको थलो नेपाल हुन नपाओस् भनेर चाहन्छ। अमेरिका–चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ। नेपालमा अहिले पनि अमेरिका कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत विक्षत गर्न चाहन्छ।’
यो कुरालाई ठिक ढंगले चिर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ। ‘हामी स्वतन्त्र एवम् असंलग्न परराष्ट्र नीतिबाट बिचलन हुन त गइराखेका छैनौ? राष्ट्रिय सार्वभौमिकता कमजोर पार्न खोजिराखेका त छैनौं? यो प्रश्न गम्भीर रुपमा उठेको छ।’श्रेष्ठले नेपालकव रणनीतिक अवस्थिती र अहिलेको विश्वको परिस्थिति, छिमेकीहरु, नवउदारीकरणलगायतका परिपेक्ष र शितयुद्धको सन्दर्भलाई अघि राखेर भूराजनीतिको विश्लेषण गर्नुपर्नेमा जोड दिए। ‘हामी दुइटा ठूला जनसंख्या भएका विशाल छिमेकीको बीचमा छौं। हाम्रो भूराजनीतिक स्थितिले विश्वका महाशक्ति राष्ट्रको ध्यान तानिएको छ,’ उनले भने, ‘यसलाई हामीले बुझेर अगाडि बढ्नुपर्छ।रासस