काठमाडौँ, पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको जनाएको छ ।आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसहितका पदाधिकारीहरूसँग सोधपुछ गर्ने तयारी रहको बताइएको छ।समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको बताए ।
आइतबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको समितिका सचिव अर्यालले जानकारी दिए । शनिबार समितिले मुल गेटदेखिका सीसीटीभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो ।‘संसदीय छानबिन समितिको छैटौं बैठक आइतबार पनि बसेको छ । पूर्वअर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरेपछि अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको छ । शनिबार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरूसँग सोधपुछ गर्ने काम भयो ।
आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । अब राजश्व सचिवसँग छलफल तथा सोधपुछ गर्ने कार्यक्रम छ । सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग छलफल सक्ने तयारी छ,’ सचिव अर्यालले बताए ।सचिव अर्यालका अनुसार आइतबार नै अर्थ मन्त्रालयसँग सम्बिन्धत विषयका प्रमाण र कागजातका लागि आवश्यक सबै अधिकारीहरूसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी गरिएको छ ।