काठमाडाैँ, आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४०औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । तर, जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्र शाहले २०१७ साल पुस १ गते अपदस्त गरी निरङ्कुश शासन सुरु गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।एक महिनापछि काठमाडौको सुन्दरीजलमा उहाँ लगायत प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, कांग्रेस नेता गणेशमान सिंह लगायतलाई बन्दी बनाइएको थियो ।
२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित हुनुभयो । तर विदेशी भूमिमा निर्वासित भएर स्वदेशको प्रजातन्त्र पुनर्स्थापनाका लागि लड्दा राष्ट्रियता कमजोर भएको र अपमान सहनुपरेको विश्लेषण गरी उहाँ २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको थियो । त्यसबेला आठवटा ज्यान मुद्दा लगाइएका वीपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएको थियो ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक समेत रहेका कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, बाबु, आमा र छोरा गरी ६ वटा उपन्यास तथा श्वेत भैरवी र दोषी चश्मा गरी २ वटा कथा सङ्ग्रह प्रकाशित छन् । उहाँको आत्मवृत्तान्त र सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित जेल जर्नल पनि उत्तिकै रुचाइएका पुस्तक हुन् ।