डोल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ९ चुँ गाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ । खोलामा आएको बाढीले पुल बगाएपछि वडा नम्वर ९,१० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र त्रिपुराकाेट बगर र सदरमुकाम दुनैसम्म आवत जावत ठप्प बनेको छ ।
निरन्तरकाे वर्षले खोलामा पानीको मात्रा भारी रुपमा बढेका कारण खोला पार गर्न नसकिएको स्थानीयबासीले बताएका छन् । औषधि उपचार,बैंकिङ सेवा,किनमेल, लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण समस्यामा परेका छन् । खोलामा पुल निर्माण नभए सम्मा यहाँका सर्वसाधारणहरु आवत जावत गर्न सक्ने अवस्था नभएको स्थानीयकाे भनाइ छ ।
तत्काल समस्या समाधानका लागि कच्ची पुल निर्माणमा नगरपालिका लगाएत सम्वन्धित निकायकाे ध्यान जान जरूरी रहेकाे स्थानीय विमल पहाडीले जानकारी दिनुभयाे । त्यसैगरी बाढीकै कारण जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवत जावत गर्नका लागि बनाइएको खोलाको तटवन्ध समेत भासिएको छ । मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएका छन । मालवाहक ट्रक,ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट,जुफाल लगाएतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन् ।
दिर्घकालिन समस्या समाधानका लागि खाेलाकाे एका तिरकाे भिड काटेर बाटाे खाेल्ने र खाेलामा पक्कि पुल निर्माणपछि मात्रै दिगाे र समस्या समाधान हुने स्थानीय पहाडीले बताए । पक्की पुल निर्माणका लागि नगरपालिकाका जनप्रतिनिधि देखि प्रदेश र संघका समेत प्रतिनिधि सबै लाग्नुपर्नेमा पहाडीकाे जाेड छ ।


















