काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरूलाई समय सुहाउँदो रूपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नव निर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागकिरलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताए ।
सत्यतथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए । प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे । नागरिक शिक्षित र सूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने उनको भनाइ छ । तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने उनको भनाइ छ ।