काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्न बुधबार दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ ।यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।
विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रक रायमाझीले बताए ।यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।
त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।