रुकुम पश्चिम, गाउँमा खोला पसेपछि आठबीसकोट नगरपालिका–७ स्थित गाराबस्तीका ३५ परिवार विस्थापित भएको छ । घट्टेखोलाको बाढी मंगलबार बिहान बस्तीमा पसेपछि सबैलाई अन्यत्र सारिएको वडाध्यक्ष अमृत बुढाले बताए ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ स्थित गारा गाउँमा पसेको स्थानीय घट्टेखोला । ‘बस्ती खाली गराएका छौं,’ बुढाले भने, ‘पहिरोले थुनिएपछि खोला गाउँ पसेको हो ।’ नगरपालिकाको केन्द्र राडीबाट दाँजे हुँदै खदी जाने सडक निर्माणको क्रममा फालिएको माटो झरेर घट्टखोला थुनिएको हो ।
स्थानीय मनबहादुर बुढाका अनुसार खोलाले सुनील आरसीको घर र शौचालय बगाएको छ । अरू घर र अन्य संरचना जोखिममा छन् । गाउँमा खोला बग्न थालेपछि स्थानीयले केही सामान निकाल्न भ्याएका थिए । अहिले अधिकांश विस्थापित आफन्तको सहारामा छन् । खोलाले धानखेतमा पनि क्षति पु¥याएको छ । आठबीसकोट नगर प्रमुख रवि केसीले बस्तीमा पसेको खोला नियमित बाटोमा फर्किसकेको बताए ।अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।