काठमाडौँ,उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सन्दर्भमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गरेको छ । उपभोक्ता मन्चले समितिको प्रतिवेदन लागू हुँदा मुलुकलाई अपुरणीय क्षति हुने भन्दै सो प्रतिवेदन कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ ।
मञ्चका अध्यक्ष ज्योति बानियाँले संविधानको धारा ४६ र १३३ को उपधारा २ र ३ को व्यवस्थाबमोजिम समितिको प्रतिवेदन कार्यान्वयन नगराउन अन्तरिम आदेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन बुझाएको बताए ।’हामीले अदालतमा आइतबारै रिट निवेदन पेस गरिसकेका छौँ । प्रक्रियाअनुसार सोमबारसम्म हाम्रो निवेदन दर्ता हुन्छ,’ उनले भने । मञ्चले सार्वजनिक हक र सरोकारको विषय भए पनि संसदीय विशेष समितिले कानुनबमोजिम प्रमाण संकलन र न्यायिक जाँचबुझ नगरी दोषीलाई उन्मुक्ति दिने नियतले प्रमाणमा छेडछाड गरी प्रतिवेदन पेस गरेको भन्दै प्रतिवेदन कार्यान्वयन नगराउन अदालतसमक्ष निवेदन गरेको हो ।
अध्यक्ष बानियाँले अमुक व्यक्ति समूहले जस्तोसुकै कानुन उल्लंघन गरे पनि कुनै कानुनी कारबाही हुँदैन भन्ने सन्देश जाने गरी प्रतिवेदन पेस भएको बताए । ’समितिको प्रतिवेदन न्यायसंगत छैन । यसमा न्यायिक जाँचबुझ र छानबिन हुनुपर्छ । समितिको प्रतिवेदन यथास्थितिमा नराख्ने हो भने अपुरणीय क्षति हुने अवस्था छ,’ उनले भने ।
मञ्चका तर्फबाट सचिव जयप्रसाद पौडेलले संसद् सचिवालय, संसदीय विशेष समिति, मन्त्रिपरिषद् र अर्थ मन्त्रालयलाई विपक्षी बनाई रिट निवेदन दिएका छन् ।यसअघि मञ्चले बजेट निर्माणमा अनाधिकृत व्यक्तिले प्रवेश पाएको विषयमा अर्थ मन्त्रालयमा सूचनाको हकको व्यवस्थाबमोजिम निवेदन दिएपछि घटना सार्वनजिक भएको थियो । मञ्चले असार १४ मै त्यसबारे मन्त्रालयले सूचनाको हकबमोजिमको निवेदन दर्ता गराएको थियो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश गरी अनावश्यकरुपमा करका दर हेरफेर भएको विषयमा समाचारहरु प्रकाशित भएपछि प्रतिनिधिसभाले संसदीय छानबिन विशेष समिति गठन गरी छानबिन गराएको थियो । सो विषय न्यायिक छानबिन र अनुसन्धानको विषय भए पनि दलहरुले आपसमा मिलेमत्तो गरी दुहाउने टुंग्याउने नियतले काम कारबाही गरेकोले मञ्चको आरोप छ ।
रिट निवेदकले बजेट निर्माणमा भएको सो अपराध मुलुकी अपराधसंहिता, २०७४ को दफा ८६ बमोजिमको अपराध भएको भन्दै न्यायिक छानबिनबाट पत्ता लगाउन सहयोग गर्नुपर्नेमा सरकार र संसद्ले छानबिनलाई रोक्ने तथा छानविन गर्न निषेध गर्ने दूषित नियतले अधिकार क्षेत्रविहीन समिति गठन गरी चोख्याउने काम गरेको आरोप लगाएका छन् ।मञ्चले जाँचबुझ आयोग ऐन, ०२६ अनुसार यो विषयमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी छानबिन र अनुसन्धान गरिनुपर्ने माग गरेको छ ।कान्तिपुरबाट साभार