काठमाडौं, जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की पुल एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थप पछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।
२०६१÷०६२ सालबाट सञ्चालित जीण बेलिब्रिजबाटै ठूला सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कति बेला दुर्घटना हुने भन्ने सकिने छैन । चाँडै पुल बन्ला र सुरक्षित यात्रा गरौंला भन्ने आशामा बसेका स्थानीय निर्माण नसकिँदै पुल चर्किएपछि निर्माणमा लापरबाही गरेको भन्दै आक्रोसित भएका छन् ।तिला–७ का कृष्णबहादुर बुढाले भने, “पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद पक्ष हो । सँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन् । तर सिंजाखोला पुल ६ वर्ष बित्दा पनि बनेको छैन ।
निर्माण सकिनै लागेको पुल चर्किनुमा कसको लापरबाहीले हो ? तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ ।” लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु विडम्बना नै रहेको स्थानीय अगुवा बताउँछन् । कमसल सामग्री प्रयोग गरेका कारण पुल बीचमै भत्किन थालेको स्थानीयको आशंका छ । आजको कारोबार दैनिकमा खबर छ ।