सिन्धुपाल्चोक, निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पु¥याएको छ। यो वर्षको दुई महीनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्।
आइतबार बाह्रबिसे नगरपालिका(७ मा गएको पहिरोमा १४ जनाको मृत्यु भएको छ भने १७ जना हालसम्म पनि बेपत्ता नै छन्। असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुईजनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पु¥यायो।
बाह्रबिसे नगरपालिका(५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुईजनाको मृत्यु भयो भने १७ जना हालसम्म पनि हराइरहेका छन्। त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका(४ बुलकुटेमा एकजनाको बाढीले बगाएर ज्यान गयो। साउन १ गते भोटेकोशी गाउँपालिका(४ फूल्पिङमा पहिरोले पाँच जनालाई पु¥यो।
गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका(११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाए। यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुईजनालाई बगाएको थियो। तीमध्ये एकजना अझै बेपत्ता छन्। एकजनाको तत्काल उद्धार गरिएको थियो।
सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका(२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए। साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन्। सो पहिरोमा हालसम्म पनि दुईजना हराइरहेका छन् ।
सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम शुरू भएयता ७४ जनाले ज्यान गुमाएका छन्। पहिरोमा हालसम्म ४१ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ। पहिरोमा परी जिल्लाभर १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन्।
पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सीडीओ ढकालले जानकारी दिए। यस्तै भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ।
जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई ११ लाख ८५ हजार र पहिरोपीडितलाई १० लाख नौ हजार राहत वितरणसमेत गरिसकिएको छ। रासस

















