लमजुङ, अविरल वर्षापछि आएको पहिरोले गएरातिदेखि लमजुङको डुम्रे–बेसीसहर र बेसीसहर–चामे सडक खण्ड पुनः अवरुद्ध भएको छ ।डुम्र–बेसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा र मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो जाँदा बेसीसहर–चामे सडक अवरुद्ध भएको हो ।
वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँका अनुसार पहिरोले अवरुद्ध बनाएको सडक एक्स्काभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ ।
सडक अवरुद्ध हुँदा बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र त्यहाँबाट बेसीसहर आउने यात्रुहरु मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ । त्यस्तै, लमजुङ–मनाङ जोड्ने बेसीसहर–चामे सडकअन्तर्गत रामबजारमा पहिरोले अवरुद्ध भए पछि गाडी चल्न सकेका छैनन् ।सडक माथिबाट ढुङ्गामाटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। रासस