काठमाडौं, नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरीले निर्घात कुटपिट गरेको हो ।
घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ । त्यसक्रममा ‘केपी ओलीको पक्षमा प्रदर्शन गर्न हुने, राम्रो मान्छेको पक्षमा किन नहुने’ भनेर आफूले प्रहरीलाई प्रश्न गरेको गुप्ता बताउँछन् । तर, यो प्रश्नबाट प्रहरी रिसाएर सबैलाई अन्धाधुन्द लाठीचार्ज र बुट बजार्न थालेको उनले बताए ।
प्रहरीले आफूहरुलाई कुनै कारणसमेत नदिइ अश्लील शब्द बोल्दै कुटपिट गरेको उनले बताए । कुटाइबाट उनको खुट्टामा चोट लागेको छ । ‘हिजो एक्स रे पनि भयो, भित्रचाहिँ समस्या देखिएन’, उनी भन्छन् । प्रहरीले उनलाई केहीबेरपछि प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो । त्यहाँ पुगेलगत्तै गुप्ता निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रहरीले थुनामुक्त गरेको थियो ।
सार्वजनिक स्थलमै यसरी कुट्ने प्रहरीले भित्र लगेर के गर्छ? pic.twitter.com/RrhW6z2NLX
— Birendra Chand (@BrendraChand) September 17, 2020

















