काठमाडौं, गत पुसको दोस्रो साता माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भयो। महाधिवेशनले १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था ग¥यो। तर पार्टीको सर्वोच्च निकाय महाधिवेशनलाई पदाधिकारी चयन गर्न दिइएन। केन्द्रीय कमिटी सदस्यको नामलाई अनुमोदन गर्दै महाधिवेशन अन्त्य गरियो। त्यसरी बनेको केन्द्रीय कमिटीले दाहाललाई पार्टी अध्यक्षमा चुन्यो। तर, ९ महिना बित्दा पनि अरू पदाधिकारी भने चयन भएनन्।
महाधिवेशन भएको लामो समयसम्म पनि अध्यक्ष दाहालले एकल रूपमा पार्टीको नेतृत्व हाँके। मुख्यगरी, महासचिवमा नेताहरूको हानथाप भएको बहानामा प्रचण्डले अरू पदाधिकारी चयन गरेनन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणापछि फेरि प्रचण्डले पदाधिकारी घोषणा गर्ने तयारी गरेका छन्। तर, अहिले पनि ‘कहिले के त कहिले के’ बहाना बनाएर पदाधिकारी घोषणा गरेका छैनन्। केन्द्रीय पदाधिकारीका पद खाली छन्। नेताहरू जिम्मेवारीविहीन छन्। पार्टी अस्तव्यस्त छ। प्रदेश तहका नेताहरूको पार्टीले व्यवस्थापन नहुँदा पार्टी छोड्नेहरूको लहर नै चलेको माओवादीका नेताहरू बताउँछन्।
पदाधिकारी छनोटका लागि पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बैठक बसेको थियो। पद बाँडफाँटमा सहमति नजुटेपछि अध्यक्ष दाहालले पदाधिकारीको नाम घोषणा गर्न सकेनन्। बैठक स्थगित गरेर गोरखातिर लागे।