काठमाडाैँ,कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको विशेष राजकीय सम्मानका साथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राज्यलाई पु¥याएको विशेष योगदानको कदर गर्दै गृह मन्त्रालयले उनलाई विशेष राजकीय सम्मान दिने निर्णय गरेको थियो । उपचारका क्रममा गिरिको शुक्रबार बेलुकी साढे ९ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
‘राज्यलाई विशेष योगदान दिने विशिष्ट व्यक्तिलाई त्यस्तो योगदान दिने गरिएको छ,’ गृहप्रवक्ता फणीन्द्रमणि पोखरेलले नयाँ पत्रिकासँग भने, ‘उहाँको त्यही योगदानको सम्मान गर्दै गृह मन्त्रालयले विशेष सम्मान दिएको हो ।’ आर्यघाटमा गिरिलाई नेपाल प्रहरीको एक टुकडीले विशेष सम्मान प्रदान गरेको थियो । गिरिलाई छोरा सन्तोष तथा भतिजाहरू प्रन्ययन र सन्दर्भले दागबत्ती दिए । त्यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले गिरिप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाणलगायतका मन्त्रीहरू, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका कांग्रेस नेता÷कार्यकर्ता, तथा अन्य दलका विभिन्न नेता र गिरिका शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
पशुपति आर्यघाट ल्याइनुअघि गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान साढे ११ बजेदेखि साढे दुई बजेसम्म सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसरमा राखिएको थियो । त्यसअघि बिहान ११ बजेसम्म मेडिसिटी अस्पताल परिसरमा राखिएको थियो । सानेपा पार्टी मुख्यालय पुगेर देउवा, पौडेल, खड्का, गुरुङले गिरिलाई पार्टीको झन्डा ओढाएका थिए । कांग्रेस तथा अन्य राजनीतिक दलका नेता र शुभचिन्तकले पार्टी कार्यालयमा पनि पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन राजधानीभित्रका विभिन्न स्थान तथा राजधानीबाहिरबाट पनि शुभचिन्तक र कांग्रेस कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए । काभ्रे तिमालकी ४३ वर्षीया सीता केसी आइतबार २ बजे मलिन अनुहार लगाउँदै पशुपति आर्यघाट आइपुगेकी थिइन् । उनले आफ्ना प्रिय नेता गिरिको शनिबार राति निधन भएको खबर आइतबार बिहान मात्रै थाहा पाएकी थिइन् । लगत्तै काठमाडौं हिँडेकी उनी आर्यघाट पुग्नुअघि गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस केन्द्रीय कार्यालय पनि पुगेकी थिइन् । ‘बेलुका चाँडै सुतेकाले थाहा भएन । बिहान उठ्दा प्रिय नेताको निधनको खबर सुनेर असैह्य पीडा भयो । त्यसपछि सबै काम छाडेर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं आइपुगेँ,’ केसीले नयाँ पत्रिकासँग भनिन् । उनीजस्ता थुप्रै शुभचिन्तक आर्यघाटमा भेटिएका थिए ।
देउवाको अनुहारमा पीडा र छटपटी
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पीडा र छटपटीमा देखिन्थे । बिहान पार्टी कार्यालयमा पुगेका देउवाले त्यहाँ पनि निकै समय बिताएका थिए । पछि साढे तीन बजे पशुपति आर्यघाट आइपुगेका उनी पाँच बजेर २० मिनेटसम्म त्यहाँ रहे । गिरिलाई दागबत्ती दिइएपछि मात्र उनी त्यहाँबाट बाहिरिएका थिए । उनी निकै समय उभिएरै गिरिको अनुहार हेरिरहेका देखिन्थे । गिरि, कांग्रेसभित्र देउवालाई कडा आलोचना गर्न सक्ने नेता थिए । कांग्रेस विभाजनपछि देउवाले आफ्नो नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन गर्दा गिरि पनि देउवासँगै गएका थिए । पार्टी एकतापछि कांग्रेस फर्कँदा पनि गिरि देउवासँगै थिए । देउवाले व्यक्तिगत लोभ र स्वार्थ नराखी आलोचना गर्ने र सुझाव दिने एक असल सहयात्री गुमाएका थिए ।
न लाग्यो भारतको उपचार, न मेडिसिटीबाट सकुशल फर्किए
घाँटीको क्यान्सरले समस्या दिन थालेपछि गिरि करिब एक वर्षअघि भारतको मुम्बईमा उपचारका लागि गएका थिए । करिब एक वर्ष त्यहाँ उपचार गराए । गत साउन दोस्रो साता नेपाल फर्किएका गिरि लगत्तै बिरामी परे । निमोनियाले सताएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनको क्यान्सर रोग विशेषज्ञ डा. पंकज वर्मनसहितको टोलीले उपचार गरिरहेको थियो । तर, घाँटीको क्यान्सर शरीरका अन्य भागमा पनि फैलिँदै गएकाले उनको स्वास्थ्यमा सुधार हुन नसकेको डा. वर्मनले बताए । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि बिहीबारबाट उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो । अन्ततः शनिबार राति साढे ९ बजे गिरिले अन्तिम सास लिए ।
पिता मित्रलाल र माता पुण्यप्रभाको कोखबाट वि.सं. २००४ असोज २४ गते गोवर्धन पूजाका दिन गिरिको जन्म भएको थियो । सिराहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनलाई समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेताको रूपमा लिने गरिन्थ्यो ।
उनको अध्ययन, अनुसन्धान तथा लेखनमा रुचि थियो । उनले राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेलजीवन बिताएका थिए । उनमा दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता थियो । हरेक राजनीतिक आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । उनका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेसमा आबद्ध भएका थिए । तत्पश्चात् उनी पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतविरुद्ध निरन्तर संघर्षरत रहँदै आएका थिए । सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिने क्रममा उनी पटक–पटक जेल र निर्वासनमा समेत परेका थिए । उनी कांग्रेसमा मात्रै नभई नेपाली र विदेशी राजनीतिक समकक्षीबीच समेत लोकप्रिय थिए ।
उनी विशेषगरी ०१७ को घटनाक्रमपछि राजनीतिमा सक्रिय बन्न पुगेका थिए । त्यसक्रममा ०२४ मा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए । ०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित गिरि संविधानसभा सदस्य निर्वाचन, ०६४ मा कांग्रेसबाट समानुपातिक सभासद् भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० मा पनि कांग्रेसबाट समानुपातिक सभासद् चयन भएका थिए भने संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन, ०७४ मा सिराहा १ बाट निर्वाचित बनेका थिए । उनी प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य थिए ।
कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने
गिरीको शोकमा कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान बसेको कांग्रेसको आकस्मिक कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गिरिप्रति उच्च सम्मान प्रकट गर्दै ५ भदौदेखि ७ भदौसम्म देशभरका पार्टी कार्यालयहरूमा झन्डा आधा झुकाउने र शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

















