काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने क्रममा नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताएका हुन् ।
राष्ट्रपतिसँग अब दोस्रो पटक संसद्बाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनीसमेत दाहालले दिए ।दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणित गर्नुपर्ने दाहालको भनाइ थियो । राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको दाहालले बताए । राष्ट्रपतिबाट प्रमाणीकरण नभए अदालतमा जाने वा राजीनामा आउने उनले बताए ।
‘कसैले पनि भ्रम फैलाउन वा भ्रम पाल्न जरुरी छैन । किनभने हामीले अहिले गरेको कुरा यतिमात्रै हो कि जन्मसिद्ध नागरिक बनेका बाबुआमाका छोराछोरीहरुले वंशजको नागरिकता पाउनुपर्छ । लाखौँको संख्यामा छन्, उनीहरुलाई नागरिकताविहीन बनाउन हुँदैन । ७ वर्षे प्रावधान एमालेको पहलमा होइन, माओवादीको पहलमा वैवाहिक अंगीकृतको बारेमा प्रावधान राखिएको हो । मैले भनिसकेँ, दोस्रो पटक संविधानले कतै ठाउँ नै दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ ।
केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ । त्यसकारण नगर्ने सम्भावना पनि छ । त्यसो भए एउटा कुरा अदालतमा इस्यु जान्छ । अदालतको फैसला पछि अघि बढ्छ । दोस्रो उहाँले राजीनामा दिने हो । मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदि तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ । यी दुई वटा हुनसक्छ,’ दाहालले भने ।
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनमा सहमतिअनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुनेसमेत बताए । आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ । अध्यक्ष दाहालले अंगीकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भएपनि त्यति बेला सर्वसम्मत हुन नसकेको बताए ।