काठमाडाैँ, मिटरब्याजको पासोबाट उठिवास भएका विपन्न नागरिकका पीडा सम्बोधन गर्न बनेको कार्यदलले एक महिना लामो अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएकोे छ । कार्यदलले सोमबार गृहमन्त्री बालकृण खाणलाई प्रतिवेदन बुझाएको हो ।कार्यदलका सदस्यअनुसार प्रतिवेदनमा स्थानीयले गाउँका साहुमहाजनसँग मिटरब्याज ऋण लिनुपर्ने बाध्यता, मिटरब्याजको चक्रबाट पीडितलाई मुक्ति दिलाउने उपाय, ऋण प्रवाह गर्ने साहुकारविरुद्ध कारबाही गर्न विद्यमान कानुनमा रहेको जटिलता र समाधानका उपाय समेटिएका छन् ।
कार्यदलका सदस्य तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले मिटरब्याजलाई कानुनमै नयाँ ढंगले परिभाषित गरिनुपर्ने सुझावसहित महिना दिनपछि अध्ययन प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस गरिएको बताए । ‘मिटरब्याजको पासोबाट उठिवास लागेकाहरूको अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल बनाएको थियो । महिना दिनभित्र अध्ययन प्रतिवेदन पेस गरिनुपर्ने समयसीमा तोकिएको थियो । सोहीअनुसार हामीले स्थालगत रूपमै पुगेर समस्या अध्ययन ग¥यौँ । समाधानका उपाय खोज्यौँ । यसक्रममा पीडित मात्र होइन, विविध पक्षसँग छलफल गरी प्रतिवेदन तयार पारेका हौँ,’ उनले भने ।
कार्यदलका अनुसार समस्या सिर्जनापछि कानुनी उपचार खोज्नुभन्दा समस्या नै सिर्जना हुन नदिने वातावरण बनाउनेतर्फ प्रतिवेदनले विशेष जोड दिइएको छ । यसका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । मिटरब्याजमा ऋण लिनु विपन्न नागरिकको बाध्यता भएको हुँदा यसलाई रोक्न प्रत्येक स्थानीय तहबाट सहज तवरले ऋण लिन ‘रिभोल्बिङ फन्ड’ बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसो गरिँदा ऋणी साहुकारकहाँ नभई स्थानीय तह धाउन थाल्छन् र यसले मिटरब्याजको समस्यालाई जरैदेखि समाधान गर्ने विश्वास लिइएको छ ।
प्रतिवेदनमा बैंक, सहकारी तथा वित्तीय संस्था पनि जिम्मेवार हुनुपर्ने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय स्थानीय तहसम्म पु¥याउनुपर्ने, ऋण प्रवाहमा हुने गरेका झन्झटिलो प्रक्रिया छोट्याउनुपर्ने, घरजग्गालाई धितो जमानीका रूपमा लिइनुपर्नेजस्ता सुझाव प्रतिवेदनमा उल्लेख भएको कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले बताए ।
न्याय मागिरहेका पीडितमाथि प्रहरी हस्तक्षेपन्यायिक छानबिन समितिको मागमा रहेका माइतीघर मण्डलामा धर्नारत साहुकारपीडितविरुद्ध प्रहरीले हस्तक्षेप गरेको छ । धर्नामा सहभागी हुने क्रममा उनीहरूमाथि सडकमै अवरोध भएको हो । केही पीडित पक्राउ परेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सको भ्रमणका वेला सडकमा धर्नामा बस्न नदिन प्रहरीले उनीहरूलाई अवरोध गरेको हो ।
सदाझैँ पीडित सोमबार पनि कीर्तिपुरबाट गाडी चढेर धर्नाका निम्ति माइतीघर मण्डला आउन लागेका थिए । यही क्रममा प्रहरी टोलीले उनीहरू बस्ने क्याम्प घेरा हाली उनीहरूलाई बाहिर निस्कन अवरोध ग¥यो । दुई पक्षबीचको घम्साघम्सीपछि लाठीचार्जमा बदलियो । पीडित जसरी पनि माइतीघर मण्डला आउने मुडमा देखिएपछि प्रहरीले सबैलाई पक्राउ गरेर दिनभर कीर्तिपुरमै बन्धक बनाएको थियो । भिभिआइपीको भ्रमण भएको हुँदा धर्नामा आउनेहरूलाई तत्कालका लागि रोक्नुपरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सीताराम रिजालले बताए । ‘भिभिआइपीको भ्रमण छ । उहाँहरूको धर्ना माइतीभर मण्डलामा छ । सोही रुट भएर भ्रमण तय भएको छ । त्यसो हुँदा उनीहरूको धर्नामा हस्तक्षेप गर्नुपरेको हो । यो क्रम भ्रमण अवधिभर जारी रहनेछ,’ उनले भने ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।