इटहरी, विकासोन्मुख सहरका रूपमा परिचित छ, धरान । शिक्षा, स्वास्थ्य क्षेत्रले सम्पन्न सहर भए पनि यहाँ वर्षौंदेखि खानेपानी समस्या ज्यूँका त्यूँ छ । धराने जनताले ‘खानेपानी सहज रूपमा पाउनुपर्छ’ भनेर कैयौं आन्दोलन गरे ।कहिले खानेपानी मुहान फुट्दा कर्मचारीलाई जानकारी गराउने त कहिले खानेपानी मुद्दा विषयमा उपमहानगरको गेटै भत्काउनेसम्मका आन्दोलन भए ।
विशेषगरी, धरानमा फागुन, चैत र वैशाखमा खानेपानी हाहाकार हुन्छ । त्यसबेला मात्रै जुट्छन्, कतिपय अभियन्ता पनि । कतिपय दल चुनावताका खानेपानी समस्या समाधान विषयमा ‘राजनीतिक एजेन्डा’का रूपमा अगाडि सार्दै आएका छन् । तर, उनीहरूका एजेन्डा चुनावभर सीमित हुन्छ ।
पटकपटक कम्युनिस्ट जिताएका धरानले २०७६ को उपनिर्वाचनमा परिवर्तन चाहेका कारण कांग्रेस चुने । तर, कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित तिलक राईले पनि खानेपानीका लागि आशलाग्दो नेतृत्व गर्न नसकेपछि गत चैतमा उपमहानगरअगाडि रित्तो गाग्री लिएर खानेपानी नपाएको धरान आन्दोलनमा उत्रियो । त्यस क्रममा धरान उमपहानगर गेटै भत्काउने प्रयास भए ।‘धराने एक होऔं’, ‘धरान खानेपानी व्यवस्थापन बोर्डको सर्तअनुसारको खानेपानी खोइ ?’, ‘जारको पानीले नुहाउन सक्दैनौं’, ‘जिम्मेवारी वहन गर’लगायत नाराबाजीसँगै गेटै उखेल्ने भीड उचालियो ।
आन्दोलनका क्रममा कतिपय कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि भौतिक आन्दोलनसमेत भए । तर, आन्दोलनकै भरले धरानले दिगो रूपमा खानेपानी पाएन । आन्दोलन चुलिँदै गयो ।खानेपानी संस्थान बोर्डका कर्मचारीमाथि ‘कामै नगरेको’ आरोप लगाइए । यही आन्दोलनको नेतृत्व र अगुवाइ गर्ने पात्र थिए, हर्कराज राई (हर्क साम्पाङ) । जो आज धरान उपमहानगर प्रमुख छन् ।अाजकाे राजधानी दैनिकमा खबर छ ।