धनगढी, आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे छलफलका लागि सोमबार बसेको अनौपचारिक वार्ता विनानिष्कर्ष टुंगिएको छ । उनले अघि सारेका आधारभूत स्वास्थ्यका मागबारे छलफल गरेर वार्ता टुंगिएको हो ।केसी र सरकारको वार्ताटोलीबीच स्वास्थ्य क्षेत्रको सुधारका लागि आधारभूत मागबारे सम्बोधन गर्न सकिने विषयमा अनौपचारिक छलफल भएको नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिए । केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी तत्काल सम्बोधन गर्न सकिने मागका विषयमा छलफल गरेर अनशन तोड्न सकिने वातावरण बनाउन विस्तृत छलफल गरिएको उनको भनाइ छ ।
केसीले राखेका माग सम्बोधन गर्न मंगलबार औपचारिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केसी र सरकारी वार्ता टोलीबीच वार्ता बस्ने तयारी छ । अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले थप उपचारका लागि उनलाई काठमाडौं ल्याउने विषयमा मंगलबार नै टुंगो लाग्ने डा. कार्कीले बताए ।
केसीको जीवनरक्षा गर्न माग
अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अविलम्ब वार्ता निष्कर्षमा पु¥याएर उनको जीवनरक्षा गरिदिन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । सेती प्रादेशिक अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएसँगै चिकित्सक संघले अविलम्ब वार्ता निष्कर्षमा पु¥याउन आग्रह गरेको हो । डा. केसीको उपचारमा संलग्न चिकित्सकले सोमबार केसीको पेटमा अल्सर भई आन्तरिक रक्तस्राव भएको आशंका गर्दै विशिष्टीकृत अस्पतालमा लैजान सुझाव दिएका थिए ।
उपचारमा संलग्नडा. शेरबहादुर कमर भन्छन्–केसी जुनसुकै वेला बेहोस हुन सक्छन्
मांसपेसी सुक्दै गएको तथा अल्सर भई रक्तस्रावको शंका भएकाले शरीरमा थप जटिलता आउन सक्ने र जोखिम हुन सक्ने भएकाले विशिष्टीकृत अस्पतालमा लैजान सल्लाह दिइएको उनको उपचारमा संलग्न डा. शेरबहादुर कमरले बताए । सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर सुविधासम्पन्न अस्पताल लैजान सुझाइएको उनले बताए । ‘स्वास्थ्य अवस्था नाजुक भइसकेको छ । जतिवेला जुनसुकै अंग र प्रणालीमा समस्या आउन सक्छ । त्यस्तो अवस्थामा हामीसँग उपचार सुविधा छैन,’ डा. कमरले भने, ‘त्यही भएर सुविधासम्पन्न अस्पताल लैजान भनेका हौँ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।