काठमाडौं, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलंघन गर्ने अधिकार नरहेको बताएका छन् । बुधवार सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम भएका बताएका हुन् ।उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयकबारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताएका छन् ।
’संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयकका बारेमा विभिन्न दृष्टिकोण र विचारहरू छन् । यसको सम्मान गरिनु पर्दछ । म स्वयंले पनि राष्ट्रियसभाको बैठकमा र सार्वजनिकरूपमा समेत विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ,’ उनले भनेका छन्, ’हाम्रो पार्टीको तर्फबाट पनि संसद्मा रिजर्भेसन राखिएको थियो। हाम्रा विचारहरू राष्ट्रपतिज्यूले सरोकार देखाउनु भएका कतिपय विचारहरूसँग पनि मेल खान्छन् ।’राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनको चर्को विरोध भइरहेको छ ।रासस