काठमाडाैँ,रौतहटको गौर नगरपालिका– ४ का ५५ वर्षीय अली मियाँ अन्सारी हिजो (बुधवार) बेलुका ८ बजेदेखि कोरोना परीक्षणका लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा लाइन बसेका रहेछन् । उनीसँगै ५० वर्षीय मन्सुल अन्सारी पनि लाइनमा भेटिए । काठमाडौंको कालीमाटी आसपास क्षेत्रमा साइकलमा कपडा बेचेर जीविकोपार्जन गर्दै आएका अन्सारीद्वय हिजो बिहान गौरबाट काठमाडौं आएका रहेछन् ।
घरबेटीले पीसीआर परीक्षण गरेर नेगेटिभ भएको खण्डमा मात्रै कोठामा बस्न दिने बताएपछि उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क कोरोना परीक्षणका लागि लाइनमा बसेका थिए ।
हिजो बेलुका ८ बजे लाइन बस्दा उपत्यकामा झरि परिरहेको थियो, तर उनीहरूसँग छाता थिएन । दुवै जनाले १५०र१५० उठाएर एउटा छाता किनेर दुवै जनाले त्यसैको सहारामा रात बिताएको उनले लोकान्तरलाई बताए । कोठामा कपडा भएकाले उनीहरूले आउँदा थप कपडा ल्याएका थिएनन् । तर कोठामा छिर्न नपाएपछि त्यही भिजेको कपडाले रात गुजार्नुप¥यो ।
‘कपडा ल्याइएन, यति सारो जाडो होला भन्ने पनि थाहा थिएन, रातभरि थरथर काम्दै बस्नुप¥यो,’ अन्सारीले भने, ‘राति छाडेर जाउँ भने कहाँ जाउँ छातामुनि नै जागाराम बस्यौं ।’ रातभरिको झरीले टेकुु अस्पतालको बाहिर पानीको ताल परिरहेको थियो, आधा खुट्टा पानीमै राखेर रात र आजको दिन बितेको मनसुल अन्सारीले बताए ।
‘तल पानीको ताल माथिबाट झरेको झ¥यै थियो,’ मनसुलले भने, ‘के गर्नु यस्तो रोग आयो, भोक पनि भन्न नमिल्ने ।’
वीरगञ्ज महानगरपालिका– २ का अरबिन्द साह पनि बिहान २ बजेदेखि लाइनमा बसेका रहेछन् । तर पनि उनको आज पालो आउने छाँट देखिएको छैन, अस्पतालको बरान्डामा नै रात बित्ने पक्का छ ।
बालाजुको गार्मेन्टमा काम गर्दै आएका साह कोरोना महामारीका कारण गत जेठमा घर गएका थिए । चाडबाड नजिकिँदै गर्दा गोजी रित्तिएपछि काठमाडौं आएका साहलाई साहुले पीसीआर परीक्षण नेगेटिभ नआएसम्म नआउन भनेपछि लाइनमा आइपुगेका रहेछन् । टेकुमा कोरोना परीक्षण गराउने मानिसहरूलाई झरीले पनि छेकेको छैन । २० घण्टासम्म लाइनमा बसेर कोरोना परीक्षण गराइरहेका छन् ।
सरकारले पछिल्लो समयमा लामोदुरीका यातायात र बजार खुलाएपछि उपत्यका आउनेहरूको संख्या बढेको छ । तराईका जिल्लाबाट भित्रिएका अधिकांश कोरोना परीक्षणविना कोठा तथा कार्यालयमा छिर्न नपाएपछि टेकुको लाइनमा पुग्ने गरेका छन् । लामो समय लाइनमा यसरी बस्नु पर्दा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने खतरा छ, तर सरकारको ध्यान जान सकेको छैन ।