एजेन्सी, भियतनाममा एकपटक प्रयोग भइसकेको कन्डम सफा गरी पुनः बेच्न राखेको पाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसरी बेच्न राखिएका ३ लाख २० हजारवटा कन्डम भियतनाम प्रहरीले बरामद गरेको हो ।
भियतनामको दक्षिणी भेगमा पर्ने द्युङ प्रान्तस्थित गोदाममा छापा मार्दा प्रयोग भइसकेको कन्डम बेच्न राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस गोदामकी सञ्चालिका भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। उनले त्यस्तो कन्डम बेचेबापत प्रतिकिलो ०.१७ अमेरिकी डलर पाउने गरेको बताएकी छन् । तर अहिलेसम्म कतिवटा कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन नसकेको भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीले जनाएको छ ।
ती कन्डमलाई पहिले पखालिएको अनि लिंगको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको र पुनः प्याक गरी बेच्ने गरिएको पाइएको बीबीसीले जनाएको छ