काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बाराको जितपुर सिमरा सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गरेका छन्।सामाजिक सञ्जालमार्फत प्रचण्डले बस दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना जनाएका छन्।आज बिहान भएको बस दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन्।
अध्यक्ष प्रचण्डले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेहरूलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको भन्दै आवश्यक सतर्कता अपनाउन समेत प्रचण्डले अनुरोध गरेका छन्।यस्तै प्रचण्डले प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन समेत पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्,’ ’बाराको जितपुर(सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको छु । दुर्घटनाका मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । यसका साथै विभिन्न अस्पतालमा उपचाररत् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेहरूलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध छ ।
चाडबाडको समयमा आइपरेको यो दुःखमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारि गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गर्दछु । सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन समेत निर्देशन गर्दछु ।रासस