काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा निर्वाचनमा उम्मदेवार नबन्ने घोषणा गरेका छन्।२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सापकोटा यसपटक पनि त्यहीँबाट उम्मदेवार बन्ने चर्चा थियो।मनोनयन दर्ताको अघिल्लो दिन उनले आफू उम्मेदवार नबन्ने जानकारी गराएका हुन्।
शनिबार पत्रकार सम्मेलन गर्दै उनले भने, ’पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरूले पुनः प्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु।’
सापकोटा २०६४ र २०७० सालमा संविधान सभामा सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उम्मेदवार सिफारिस गर्दा माओवादीको जिल्ला कमिटीले सभामुख सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो।सत्ता गठबन्धनको भागबण्डामा सिन्धुपाल्चोक–१ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ।