काठमाडौँ, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदै छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिका रूपमा उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित राणा शनिबार बेलुका नै डडेल्धुरा पुगेकी छन् ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट वि.सं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचनहरूमा निर्वाचित हुँदै आएका छन् ।देउवा प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँपटक निर्वाचित भएका थिए । वि.सं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी राणाले बताइन् ।
भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पु¥याएको उल्लेखनीय योगदानको स्मरण गरी आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिलेजस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको राणाको धारणा थियो ।
यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए ।देउवा २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।
त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी देउवा पाँचपटक प्रधानमन्त्री भएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीनपटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन् ।डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्धनका नेताले जीत हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताए ।रासस