काठमाडाैँ, काठमाडाैँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश सभाको चुनावका कारण राजनीति तातिए पनि सङ्घीय राजधानी काठमाडाैँलगायत कतिपय ठाउँमा चिसो बढेको छ ।
त्यसो त नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिए पनि बङ्गालको खाडी आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव प¥यो । जसका कारण मनसुन झन्डै दुई हप्ता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आखिर किन चाँडै चिसो बढ्यो त १ महाशाखाका मौसमविद् हिरा भट्टराई भन्नुहुन्छ, ‘जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाण्डौमा केही चिसो महसुस गरिएको छ । घाम खुलेर लागेपछि तापक्रम ठिक ठाउँमा आउँछ ।’
बङ्गालको खाडी आसपास बनेको न्यून चापीय क्षेत्रको मौसमी प्रणालीका कारण एक हप्तादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा वर्षा भइरहेको छ । ती प्रदेशका केही ठाउँमा भारी वर्षा पनि मापन गरिएको छ ।
पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडाैँमा केही चिसो महसुस गरिएको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडोयाम सुरु भएको होइन । लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो ।’
मनसुन सकिएर पोस्ट मनसुन’ को समयपछि सामान्यतया जाडो सुरु हुन्छ । अहिले मनसुन सकिने क्रममा छ । नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडोयाम मानिन्छ । ‘जाडो सुरु भइसकेको अवस्था हैन, दुई–तीन दिन ठूलो पानी प¥यो, पानी परेपछि तापक्रम तल झर्छ । सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ । आजदेखि घाम लाग्न थालेको छ । घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ’, उहाँले भन्नुभयो ।
काठमाण्डौमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो । पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनतम तापक्रम घटेकाले चिसो बढेको मौसमविद् बताउँछन् । विगत तीन दिनयता काठमाण्डौको न्यूनतम तापक्रम १७ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ । यद्यपि आज आइतवार बिहानैदेखि काठमाण्डौमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ । केही दिनयतादेखि काठमाण्डौमा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ ।
यी क्षेत्रमा पानी परिरहेको छ
अहिले नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । मौसमविद् भट्टराईका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । दाङमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर वर्षा भएको छ । बर्दियाको राजापुरलगायत क्षेत्रमा वर्षा भइरहेको छ । त्यहाँ १६ मिलिमिटर वर्षा मापन गरिएको छ । कर्णाली प्रदेशको अछाम, सुर्खेतलगायत ठाउँमा वर्षा भइरहेको हो ।
त्यस्तै अहिले गण्डकी प्रदेशका पूर्वी भेग र प्रदेश १ को विराटनगरमा सामान्य मौसम बदली रहेको छ । रासस