काठमाडौं, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वारेसनामामार्फत रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।पुनका तर्फबाट माओवादीका रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।पुनको प्रस्तावकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषदका सदस्य भानबहादुर घर्ती छन्।
सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्यसमेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैं उपस्थित हुन नसकेको बताए। ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिनँ। गएराति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ’, पुनले भने, ‘फेरि एक पटक रोल्पाली जनताको प्रतिनिधिका रुपमा काम गर्न मैले उम्मेदवारी दिएको छु।’
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि २०७४ मा निर्वाचित भएका थिए। उनी २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए।प्रदेशसभातर्फ भने प्रदेश (क) बाट माओवादीका जोखबहादुर महरा र (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन्।रासस