काठमाडाैँ,पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् ।लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो । कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् । ५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।
कालिकोटमा मलामी गएका १३ जना हराएको पुष्टि
कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताए । ‘त्यहाँ करिब १०० घर छन् । बालबालिकाहरुसमेत गरी ५ सय जतिले स्कुलमा आश्रय लिएर बसेको अनुमान छ ।
मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिए ।