काठमाडौं,उपत्यकामा मंगलबार थप नौ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा सात सय ४७, ललितपुरमा एक सय १४ र भक्तपुरमा ७३ जनालाई संक्रमण देखिएको हो । देशभर आज १५ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा सात सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमित थप १० जनाको निधन
२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप १० जनाको निधन भएको छ । निधन हुनेमा तीनजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ९१ पुगेको छ ।निधन हुनेमा काठमाडौंका एक महिला र दुई पुरुष गरी तीनजना, बाँकेका एक महिला र दुई पुरुष गरी तीनजना छन् । त्यसैगरी मोरङ, महोत्तरी र चितवनमा एक–एक पुरुष र सर्लाहीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।