काठमाडौँ, डोल्पा जिल्लाको से—फोक्सुन्डास्थित प्राचीन लाङ् गुम्बाबाट चोरिएको बोधिसत्व अवलोकितेश्वरको सुनौलो मूर्ति अस्ट्रेलियाको सिड्नीस्थित ग्यालरीमा फेला परेको छ ।झन्डै आधा शताब्दी अघि चोरिएको १३ औं शताब्दीमा निर्मित पुरातात्त्विक महत्त्वको यो सम्पदा आर्ट ग्यालरी अफ न्यू साउथ वेल्स, सिड्नीमा फेला परेको बारे हराएका÷चोरिएका नेपाली सम्पदाको खोजी अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ ले जनाएको छ ।
यो सम्पदाको प्रमाणित तस्बिर स्वीस अध्येता उरलिच भोन स्क्रोडरको ‘इन्डो–टिबेटन ब्रोन्जेज(सन् १९८१)’ पुस्तकमा प्रकाशित छ । नेपाल तथा चीनका बौद्धमार्गीबीच लोकप्रिय रहेको लाङ् गुम्बास्थित बोधिसत्व अवलोकितेश्वर मूर्तिको पहिलोपटक फोटोग्राफर निक डउग्लासले सन् १९७१ मा तस्बिर खिचेको प्रमाण पनि यथावत छ । लाङ् गुम्बामा रहेका पुरातात्त्विक सम्पदाबारेमा कला अध्येता एमी हेलरको ‘हिडन ट्रिजर्स अफ द हिमालयज ः टिबेटन मेनुस्क्रिप्ट, पेन्टिङ एन्ड स्क्लप्चर अफ डोल्पो(२००९)’ पुस्तकमा सचित्र विवरण राखिएको छ ।
यसअघि, गत साउनमा यही गुम्बाबाट चोरिएको तामा धातुले बनेको शाक्यमुनि बुद्धको सुनौलो मूर्ति अमेरिकाको सिकागोमा भेटिएको थियो । अमेरिकाको सिकागो राज्यस्थित निजी संग्रह प्रिज्कर(टम) कलेक्सनमा यो मूर्ति भेटिएकोबारे ‘लस्ट आर्टस् अफ नेपाल’ले जानकारी बाहिर ल्याएको थियो ।
नेपालको उपल्लो डोल्पाका विभिन्न गुम्बा र पुरातात्त्विक स्थलबाट बौद्धधर्म सम्बन्धी पुरातात्विक संग्रह र सम्पदा चोरिएकोबारे बेलायती अन्वेषक डा.एमिलिन स्मिथले अन्वेषण गर्दै आएकी छन् । स्कटल्यान्डको युनिभर्सिटी अफ ग्लास्गोमा अध्यापनरत डा.स्मिथ नेपाली सम्पदाको खोजी तथा पहिचानको अभियानमा एकै साथ लागि पर्दै आएकी छन् ।कान्तिपुर दैनिकबाट साभार