काठमाडौं, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।
सोमबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएसँगै प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो।योसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ ढुवानी भएको मतपत्रको संख्या दुई करोड २२ लाख २५ हजार पुगेको छ। जसमा प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधि सभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन्।
ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको छ।रासस