काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल सम्बतलाई प्रवर्द्धन गर्न तथा व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् । चःमति टोल विकास समितिले काठमाडौंको चस्मतिमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्बतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
नेपाल सम्वतले राष्ट्रिय मान्यता पाएपनि व्यवहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै उनले सरकारले नेपाल संम्वतलाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए ।नेपालको गौरव तथा मौलिक सम्बत नेपाल सम्बतको तिथिमितिलाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने भन्नेबारे सरोकारवालासँग छलफल गरी अघि बढ्ने उनले बताए ।
नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको रुपमा रहेको नेपाल सम्वतको संरक्षण, सम्बर्द्धन र व्यावहारिक प्रयोगलाई आफुले प्राथमिकता दिएको बताउँदै उनले नेपाल सम्वतको प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफुले अघि बढाउने प्रतिवद्धता समेत जनाए ।
प्रगतिशील सामाजिक अभियान्ता तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं.९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।
गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक सम्वत प्रचलनमा ल्याउने कार्यको मूल्यांकन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
सरकारले यसअघि नेपाल सम्वतलाई राष्ट्रिय मान्यता समेत दिइसकेको छ । साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकोले लोकतन्त्र विरोधी शक्तीलाई परास्त गर्नुपर्ने बताए ।