काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय संवत् भएको बताएकी छन् । बुधबार नेपाल संवत् ११४३ प्रारम्भ भएको सुखद् अवसरमा शुभकामना दिँदै उनले नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको बताएकी हुन्। ‘राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ ।’
राष्ट्रपतिबाट जारी सन्देशमा भनिएको छ, ‘यस दिनलाई नेपाल संवत्को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा भव्यताका साथ मनाउने गरिन्छ ।’नेपाली समाज सभ्य र सहिष्णु समाज भएको बताउँदै उनले चाडपर्व र असल परम्पराहरूले थप सुदृढ बनाउँदै लगेका उल्लेख गरेकि छन् । जारी सन्देशमा भनिएको छ,‘राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’
भण्डारीले नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।