काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ।नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरूप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो।काठमाडौं विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको हो।
प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ।प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन्।
प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ।
’जहाजको इञ्जिनियरिङ, टेक्निकल कर्मचारी व्यवस्थापन गर्न कम्तीमा डेढ महिना लाग्छ, हामीले तयारीका लागि समय पुगेन विचार गरिदिनुस् भनेका छौँ’, निगमका एक उच्च अधिकारीले भने।
निगमले नयाँ दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो। सातामा १४ उडान हुँदै आएकामा आजदेखि चार उडान कटौती भएको निगमले जनाएको छ।चार उडान कटौती हुँदा अब निगमले दैनिक १० उडान मात्रै गर्नेछ। निगमको दिल्ली गन्तव्य व्यावसायिक हिसाबले राम्रो मानिन्छ। निगमले भारतको बैङ्लोर र मुम्बईमा पनि नियमित उडान गरिरहेको छ।

















